घटेनन् बिदेसिने युवा, रेमिटेन्स आप्रवाहले रच्यो कीर्तिमान

 नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको दश महिनामा करिब तीन लाख युवा रोजगारीको खोजीमा बिदेसिएका छन् ।

साथै, यो वर्षको वैशाख महिनामा मात्रै भित्रिएको रेमिटेन्सले रेकर्ड ब्रेक गरेको छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम, स्टार्टअपमा नो कर लगायतका विभिन्न योजनाहरू घोषणा गरिरहेको भएपनि युवा जनशक्ति भने त्यसमा आकर्षित हुन सकिरहेको देखिँदैन ।

राष्ट्र बैङ्कले सार्वजनिक देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार पछिल्लो दश महिनामा दुई लाख ८९ हजार २१९ नेपालीले वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आवको साउन महिनामा २२ हजार ६४७, भदौमा १७ हजार ९३६, असोजमा १९ हजार ३५६, कार्तिकमा ३४ हजार १६६, मंसिरमा ४१ हजार ३२०, पुसमा २७ हजार २०३, माघमा २८ हजार २५८, फागुनमा २६ हजार ५१७, चैतमा ४१ हजार १५४ र वैशाखमा ३० हजार ६६२ जनाले वैदेशिक रोजगारीको क्रममा देश छाडेका छन् ।

जसमध्ये गत मंसिरमा सबैभन्दा धेरै नेपाली विदेश पलायन भएका छन् । यसरी बिदेसिनेमध्ये सबैभन्दा धेरैको गन्तव्य युएई बनेको छ ।

त्यस्तै, दश महिनाको तथ्यांकअनुसार साउदी, कतार र मलेसिया पनि नेपाली कामदारको प्रमुख गन्तव्य बनेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वैशाख महिनामा भित्रिएको रेमिटेन्सले आजसम्मकै रेकर्ड बनाएको छ ।

वैशाख महिनामा मात्रै एक खर्ब ६५ अर्ब ३० करोड रेमिटेन्स भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो १० महिनामा रेमिटेन्स १३ दशमलव २ प्रतिशतले बढेको छ । अर्थात्, दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ ।

जुन सरकारको स्टार्टअप, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका फाट्टफुट्ट योजनाले पनि देशमा नरोकिएका युवाहरूको पसिनाको कमाइ हो ।

जबकि, बितेको १० महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत र नयाँ गरेर अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ०५ हजार ६१० रहेको छ ।

त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ रहेको छ । यो श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या मात्र हो ।


भिजिट भिसालगायत विभिन्न गैर कानूनी बाटोबाट कामदार पठाउने गिरोहको चङ्गुलबाट समेत धेरै नेपाली कामदार विदेश पुगेका छन् । जसको हिसाब राज्यसँग छैन ।

उस्तै छ बिदेसिने विद्यार्थीको सङ्ख्या

उच्च शिक्षाका लागि बिदेसिने नेपाली विद्यार्थीको सङ्ख्या पनि बढेको तथ्याङ्कले देखाउँछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी विभागको तथ्याङ्कअनुसार पछिल्ला १० वर्षमा ६ लाख ३९ हजार विद्यार्थीले उच्च शिक्षाका लागि देश छाड्न एनओसी पत्र लिएका छन् ।

शाखाबाट गत आर्थिक वर्ष २०८०र८१ मा मात्रै एक लाख १२ हजार ९ सय ६८ विद्यार्थीलाई एनओसी लेटर दिएको थियो ।

जसमध्ये सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् ।

दोस्रोमा जापान, तेस्रोमा युके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौँमा कोरिया र सातौँमा भारतका लागि विद्यार्थीले एनओसी लिएको देखिन्छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीको सङ्ख्यासँगै ठूलो मात्रामा पैसा पनि खर्च हुने गरेको छ ।

केही वर्ष अघिसम्म अर्बमा बाहिरिने पैसा पछिल्ला केही वर्षयता खर्बमा बाहिरिन थालेको छ ।

आर्थिक वर्ष २०७८र७९ मा १ लाख २ हजार ५०४ विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिँदा ६७ अर्ब ७० करोड रुपैयाँ नेपालबाट बाहिरिएको थियो ।

आर्थिक वर्ष २०७६र७७ मा ३३ हजार १९६ विद्यार्थीले एनओसी लिएका थिए । सो वर्ष एनओसी लिएका विद्यार्थीहरूले आफूसँगै २५ अर्ब ८१ करोड रुपैयाँ अध्ययनका लागि लगेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७७र७८ मा वैदेशिक अध्ययनका लागि २८ हजार ८२३ विद्यार्थीले एनओसी लिएका थिए । सो वर्ष २४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९र८० मा १ लाख १० हजार १२७ विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिएको देखिन्छ ।

जसबापत १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष २०८०र८१ मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५८३ विद्यार्थीले एनओसी लिँदा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ नेपाल बाहिरिएको थियो ।


+