उच्च अदालतको आदेशपछि काठमाडौं महानगरले फेरी सुरु गर्‍याे फुटपाथ विस्तार

काठमाडौं । उच्च अदालत पाटनबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खुलेसँगै काठमाडौं महानगरपालिकाले काम अघि बढाएको छ ।

आज बिहानैबाट महानगरलेन्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।

यसअघि सडक साघुँरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले समेत प्रदर्शन गरेका थिए । यसै विषयलाई लिएर नगरसभामा पनि जनप्रतिनिधिबीच नोकझोक चलेको थियो ।

+