झापामा आचारसंहिता उल्लंघन गर्दै विद्यालयमा ओलीको चुनावी कार्यक्रम, शिक्षक र प्रधानाध्यापक नै आयोजक

नेकपा एमालेका अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार केपी ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै विद्यालय परिसरमा राजनीतिक कार्यक्रम गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आइतबार दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित चुनावी प्रचारप्रसार र अन्तक्रिया कार्यक्रममा सहभागी भएका हुन्।

‘पूर्वप्रधानमन्त्रीसँग अन्तक्र्रिया’ ब्यानर राखिएको उक्त कार्यक्रमको आयोजना नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेको थियो।

निर्वाचन आचारसंहिताविपरीत विद्यालयमा राजनीतिक गतिविधि गराउन सोही विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ ओलीले मुख्य भूमिका खेलेको देखिन्छ।

श्रेष्ठ एमाले निकट शिक्षक संगठनका पूर्वअध्यक्ष हुन् भने ओली एमालेका केन्द्रीय सदस्य हुन्।

निर्वाचन आचारसंहिता, २०८२ ले विद्यालय र शिक्षकहरूका लागि स्पष्ट सीमा तोकेको छ, जसलाई यस कार्यक्रमले सिधै चुनौती दिएको छ।

निर्वाचन आचारसंहिताको दफा ४ ९ग०का अनुसार सरकारी वा सार्वजनिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न पाइने छैन।

दफा १० ९ग०मा विद्यालयका कर्मचारी वा शिक्षकले कुनै राजनीतिक दलको पक्षमा भवन वा सामग्री प्रयोग गर्न दिन वा सम्मेलन गर्न नपाउने व्यवस्था छ।

दफा १० ९छ०मा शिक्षकले राजनीतिक प्रकृतिका कार्यक्रम गर्न वा उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको व्यवस्था स्पष्ट रुपमा उल्लेख गरिएको छ।

आचारसंहिताको वास्ता नगरी गरिएको उक्त कार्यक्रममा एमालेका उच्च नेता र शिक्षक संगठनका पदाधिकारीहरूको ठूलो उपस्थिति थियो।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष हंशबहादुर शाही, महासचिव प्रकाश खनाल, पूर्वअध्यक्ष लक्ष्मण शर्मा, एमाले नेता देवेन्द्र दाहाल र प्रदेशसभा सदस्य होमबहादुर थापालगायतको सहभागिता रहेको थियो।

शैक्षिक संस्थालाई राजनीतिक अखडा बनाउन नहुने कानूनी प्रावधान भएपनि उम्मेदवार ओली र शिक्षक संगठनका जिम्मेवार व्यक्तिहरूबाटै त्यसको उल्लंघन हुनुले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

+